काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बार कुल्चिएकाले सबै दलहरुसँग छलफल गरेर यो प्रवत्तिलाई रोक्न विकल्पमा जाने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले काङ्ग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको आज शुक्रबार बसेको बैठकले संसद्मा विश्वासको मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु पनि संविधानको मर्म र भावना विपरीत भएको काङ्ग्रेसको ठहर छ । संविधानको मर्म र भावनालाई कुल्चने प्रवृत्तिलाई रोक्न सबै दलसँग छलफल गर्ने प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बताएको छ । बैठकपछि सह–महामन्त्री डा.प्रकाशशरण महतले, ‘यो प्रवत्तिलाई रोक्न सबै विकल्पमा छलफल गरेर एउटा निष्कर्षमा पुग्ने बताउनु भएको छ ।’