काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानमाथि श्रृङखलाबद्ध रूपमा भइरहेका प्रहारप्रति विवेकशील साझा पार्टीले गम्भीर चिन्ता व्यक्त गरेको छ । विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर पदमुक्त गर्न विपक्षी दलहरूलाई आह्वान गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता शरदराज पाठकले संविधानको रक्षा गर्ने जिम्मेवारी बोकेको राष्ट्रपतिबाट नै पटकपटक संविधानको साख गिराउने काम भएको भन्दै उहाँलाई महाभियोग लगाउनु भएको बताइएको हो ।
‘संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराउने, अपमान गर्ने र ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने’ विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाएर उहाँलाई पदमुक्त गर्दै संसद्मा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील साझा पार्टी आह्वान गर्दछ।’ विज्ञप्तिमा भनिएको छ ।
एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्नेमा बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाएपछि राजनीतिक वृत्तमा यो कदमको विरोध सुरु भएको छ । प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति भण्डारीले सदाझैँ रबर स्ट्याम्प सरह सदर गर्नु असंवैधानिक कदम रहेको भन्दै विवेकशीलले असन्तुष्टि व्यक्त गरेको छ । त्यसमाथि वैकल्पिक सरकार गठनका लागि लगभग २० घण्टाको मात्र समय दिइनु ओलीलाई नै फेरि प्रधानमन्त्री बनाएर संसद् विघटन गरी मध्यावधि चुनावको बहानामा मुलुकलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्रको निरन्तरता रहेको विज्ञप्तिमा उल्लेख छ ।