बुटवल – राष्ट्रियसभा उपनिर्वाचनमा आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाली काङ्ग्रेसले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई कारवाही गर्न माग गरेको छ । मुख्यमन्त्री पोखरेलले निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै एमालेका उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा मत मागेकाले उहाँलाई कारवाही गर्न माग गरिएको हो ।
मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापालाई मतदान गर्न अपील गर्नुभएको थियो । नेपाली काङ्ग्रेस, लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाको सचिवालयले निर्वाचन आयोगलाई इमेलमार्फत पत्र पठाउंदै मुख्यमन्त्रीमाथि आचार संहिता उल्लङ्घन गरेको कसुरमा कारवाही गर्न माग गर्नु भएको हो । ‘आचारसंहिता विपरीत मुख्यमन्त्रीले नै अमूक उम्मेदवारलाई विजयी बनाउन मतदाताहरुलाई अपील गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्त विपरीत रहेको छ’ पत्रमा भनिएको छ, ‘यसकारण निर्वाचन आचारसंहिता २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) वमोजिम मुख्यमन्त्रीलाई कारवाही गरिनुपर्छ ।’
हेर्नुहोस् पत्र