काठमाडौं – नेकपा एमालेको स्थायी समिति बैठकले कोभिड १९ विरुद्धको लडाई जित्न तीनै तहको सरकारलाई एकीकृत रुपमा परिचालन गर्न सुझाव दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कोभिड १९ रोकथामका लागि सरकारले गरेका प्रयासबारे जानकारी गराउनु भएको छ । 
बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले कोभिड नियन्त्रण तथा रोकथामका लागि तीनवटा सुझाव आएको बताउनु भएको छ । ‘भ्याक्सिनलगायतका स्वास्थ्य आवश्यक सामग्रीमा अन्तर्राष्ट्रिय सहायता परिचालन र आयातमा पहल गर्न र कोभिड नियन्त्रणमा तीनै तहका सरकार एकीकृत ढङ्गले परिचालन गर्नुपर्ने सुझाव आएको ज्ञवालीको भनाइ छ ।’ त्यस्तै बैठकले उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्ने जनप्रतिनिधिहरुको क्रियाकलाप भत्सर्ना समेत गरेको छ ।

प्रेस वक्तव्य
नेकपा (एमाले) स्थायी कमिटीको पाँचौं बैठक आज ६ जेठ २०७८ मा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले देहायका निर्णयहरु गरेको छ ः

१. बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्व सांसद कमरेड योगनारायण यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । उहाँको निधनबाट तराई–मधेसले एकजना सक्रिय र सम्भावनायुक्त नेता गुमाएको निष्कर्षका साथ बैठकले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
२. अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीले कोभिड महामारीको बढ्दो प्रकोप र यसका विरुद्ध सरकारले गरिरहेका प्रयासहरुका सम्बन्धमा बैठकलाई जानकारी गराउनु भयो । बैठकले सरकारका प्रयासहरु सकारात्मक रहेको निष्कर्षका साथ कोभिड महामारीका विरुद्ध बाह्य सहयोग जुटाउन, अक्सिजन, अत्यावश्यक औषधी र स्वास्थ्य सामग्रीहरुको कुनै कमी हुन नदिन, एकीकृत ढङ्गले कोभिडविरुद्ध लड्नका लागि आवश्यक कानुनी र संरचनाको व्यवस्था गर्न एवं जनताको जीवनरक्षाका लागि कुनै कमी रहन नदिन सुझाव दिएको छ ।
३. बैठकले आज बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा देखापरेका पार्टीको निर्देशनविपरीत पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको छ ।

प्रदीप ज्ञवाली
प्रवक्ता