काठमाडौं – बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतगणना अहिले ४.३० बजेदेखि सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । मतपरिणाम आजै साँझसम्ममा आउने सम्भावना रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले बिहीबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै ३ बजेसम्ममा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । उपनिर्वाचनमा प्रदेश सभा सदस्य १ सय १० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २ सय ३८ गरी जम्मा ३ सय ४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्फ १ सय ५ जना र स्थानीय तहतर्फ २ सय ३३ जना गरी जम्मा ३ सय ३८ जनाले मतदान गरेका छन् ।
यस मध्ये कोरोना भाइरस सङ्क्रमित मतदाताको संख्या २५ जना रहेको छ । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्य तर्फको मतभार १८ रहेको छ । राष्ट्रिसभा सदस्य उपनिर्वाचनको मतगणना कार्यलाई व्यवस्थित गर्न मतगणना सम्बन्धी थप निर्देशन समेत निर्वाचन अधिकृतलाई आयोगबाट आज नै पठाइसकिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । आयोगले मतदान कार्य सफलतापूर्वक सम्पन्न भएकोमा मतदान कार्यमा खटिने निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी लगायत राष्ट्रसेवक कर्मचारीहरु तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।
निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विपक्षी गठबन्धनको तर्फबाट खीमलाल देवकोटा प्रतिस्पर्धामा छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ पनि प्रतिस्पर्धामा छन् । नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानुनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा निर्वाचन भएको हो ।