काठमाडौं – राष्ट्रियसभाको उपनिर्वाचनमा मतदानका लागि तोकिएको समय सकिएको छ । दिउँसो ३ बजेसम्म तोकिएको मतदानको अवधिभर कुल ३ सय ३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रियसभाको सदस्य पदका लागि भएको उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३ सय ४७ मध्ये ९ जना मतदानमा अनुपस्थित रहेको निर्वाचन कार्यालयले जानकारी दिएको हो । प्रदेशसभाका १ सय ९ र स्थानीय तहका २ सय ३८ गरी ३ सय ४७ जना मतदाता रहेकोमा ३ सय ३८ जनाले मात्रै मतदान गरेका छन् । १ सय ९ सांसदमध्ये १ सय ५ जनामात्र मतदानमा सहभागी भएका थिए भने स्थानीय तहका २ सय ३८ मध्ये २ सय ३३ जनामात्र उपस्थित रहेका थिए ।
१ सय ४४ मतभार रहेको विवेकशील साझा पार्टीका तीन जना जनप्रतिनिधिले ‘नो भोट’ भन्दै कसैलाई पनि मतदान गरेनन् । उप निर्वाचनको मत परिणाम आजै आउने निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको परिणाम अनलाइन माध्यमबाट सार्वजनिक गरिने जनाइएको छ । उप चुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र एमालेकै माधव नेपाल समूहका साझा उम्मेदवार डा. खिमलाल देवकोटाबीच कडा प्रतिस्पर्धा देखिएको छ । माधव नेपाल पक्षका केही मतदाताले पार्टीको ह्वीप विपरीत डा.देवकोटालाई समेत भोट हालेकाले कसको जित हुन्छ, भन्न नसकिने नेताहरुको बुझाई छ ।