काठमाडौं – नेपालमा कोरोना भाइरस सङ्क्रमणको कारण रोकिएका विदेशी नागरिकहरु स्वदेश फर्कन चाहेमा अध्यागमन विभागले त्यस्ता व्यक्तिलाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट भिसा दिन सक्ने व्यवस्था मिलाएको छ ।

अध्यागमन विभागका एक अधिकारी जनाए अनुसार निषेधाज्ञाको अवधिमा नेपालमा अलपत्र परेका विदेशी नागरिकको स्वदेश प्रस्थानको लागि सहजीकरण सम्बन्धी कार्यलाई समय मिलाएर नियमित हुनेछ । अध्यागमन विभागको स्थान हदमा रहेका, कारागार तथा अन्य निकायबाट जिम्मा लगाइएको विदेशीको निष्काशन सम्बन्धी काम समेत नियमित हुनेछ । नेपालमा जन्म भई विदेशी राहदानी प्राप्त गरेका नाबालक यसै अवधिमा विदेश प्रस्थान गर्ने भएमा निजलाई प्रदान गरिने प्रवेश भिसा सम्बन्धित काम समेत निरन्तर रहने विभागले जनाएको छ ।

यस अवधिमा नेपाल बाहिर प्रस्थान गर्ने विदेशीको हकमा प्रस्थानको समयमा त्रिभुवन विमानस्थलबाटै अध्यागमन कार्यालय भिसा नियमित गर्ने व्यवस्था मिलाएको छ । नेपालमै रहेका विदेशीले अध्यागमनसम्बन्धी सेवा लिन परेमा भने निषेधाज्ञा खुलेको १ सातासम्म बीना कुनै शुल्क तथा जरिवाना सेवा पनि लिन सक्ने व्यवस्था मिलाइएको छ । निषेधाज्ञाको अवधिमा विदेशी नागरिकहरुले अत्यावश्यक परी भिसा नियमित गर्न, पदयात्रा अनुमति लिनु पर्ने भए वा अन्य सेवा लिनु पर्ने भएमा विभागमा सम्पर्क गर्न सरोकार पक्षलाई आग्रह गरेको छ ।