प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजदूतसँग नेपाललाई खोप उपलब्ध गराउन अनुरोध गर्नु भएको छ । आज बिहीबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री ओलीको कार्यालयमा शिष्टाचार भेट गर्न गएकी बेलायती राजदूत निकोला पोलिटसँग प्रधानमन्त्री ओलीले अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले बनाएको कोरोनाविरूद्ध खोप उपलब्ध गराउन अनुरोध गर्नु भएको हो । प्रधानमन्त्री ओली र राजदूत पोलिटबीच दूई देशको आपसी सम्बन्ध र विशेष गरी कोभिड–१९ विरूद्धको लडाइँमा सहयोग आदान–प्रदान गर्नेबारे छलफल भएको थियो ।
प्रधानमन्त्रीले यस क्रममा बेलायतले गरेको सहयोगका लागि धन्यवाद दिनुभएको छ । नेपालले सुरूमा बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले बनाएको खोप लगाउन सुरू गरेको थियो । भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको उक्त खोप लगाएका ६५ वर्षमाथिका धेरै नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् । भारतमा कोरोनाको सङ्क्रमण फेरि बढेपछि भारतले अहिले खोप निर्यात रोकेको छ । सेरमले यो वर्षको अन्त्यसम्ममा मात्रै खोप निर्यात सुरू हुन सक्ने जनाएको छ । भारतबाट तत्कालै खोप आउने सम्भावना नदेखिएका बेला प्रधानमन्त्री ओलीले बेलायती दूतलाई खोप उपलब्ध गराइदिन अनुरोध गर्नु भएको हो ।