काठमाडौं – प्रधानमन्त्री ओलीले बुधबार निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा राष्ट्रिय सभा उपनिर्वाचनका एमाले उम्मेदवार रामबहादुर थापा बादलका लागि मत माग्नु भएको थियो । फलस्वरुप प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले निर्वाचनको आचारसंहिता उल्लङ्घन गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ । काङ्ग्रेस संसदीय दल कार्यसमितिको बुधबार बसेको बैठकको निर्णय अनुसार आज बिहीबार बिहान निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो ।
काङ्ग्रेस संसदीय कार्यसमिति बैठकले निर्वाचन आचारसंहिता विपरित वक्तव्य दिने प्रधानमन्त्री ओली र मन्त्री श्रेष्ठलाई निर्वाचन आयोगले कारबाही गर्नुपर्ने ठहर पनि गरेको थियो । यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि निर्वाचन आचारसंहिताविपरीत बुधबार साँझ राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले उम्मेदवार थापाको पक्षमा अपिल जारी गर्नुभएको थियो । प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयका अधिकृत विजयेन्द्र वीर आलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ ।’