काठमाडौं – आज दिउँसो सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार प्रधानमन्त्री निवास बालुवाटार दिउँसो २ बजे उक्त बैठक बस्ने तय भएको हो ।

स्थायी कमिटीको बैठकमा वरिष्ठ नेता खनाल–नेपाल पक्षका नेताहरुको सहभागिता हुने सम्भावना न्यून रहेको स्रोतको भनाइ छ । पार्टी भित्रको विवाद मिलाउने सुत्र पत्ता लगाइ तीन दिनको सीमा तोकिएर गठन गरिएको १० सदस्यीय कार्यदलको बैठक भने ठोस एजेण्डा लिएर बस्न सकेको छैन । कार्यदलको हिजो बस्ने भनिएको दोस्रो बैठक समेत अन्तिम समयमा आएर स्थगित भएको थियो ।

यसैगरी प्रधानमन्त्रीले पार्टी स्थायी कमिटीको बैठक सकेपछि लगतै बालुवाटारमै मन्त्रिपरिषद् बैठक पनि बोलाउनु भएको छ । आज बस्ने मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल हुने बताइएको छ । त्यसैगरी बजेट अधिवेशनको लागि सदन आह्वान गर्न सिफारिस गर्ने सम्भावना छ । संवैधानिक व्यवस्था अनुसार आगामी आर्थिक २०७८।०७९ को लागि जेठ १५ गते संसद्मा अर्थमन्त्रीले बजेट पेश गर्नुपर्ने छ । मन्त्रिपरिषद् बैठक नियमित भएको र केही मन्त्रालयगत कार्यसूचीमाथि छलफल हुने बताइएको छ ।