बुटवल । कपिलवस्तु जिल्लामा नेकपा (माओवादी केन्द्र) एक नेतामाथि गोली हानी हत्या गर्ने प्रयास भएको छ। कपिलवस्तु जिल्लास्तरीय नेता दीपक पाण्डेमाथि बुधबार राति गोली प्रहार भएको हो । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा नेता पाण्डेमाथि तीनजनाको समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीन जनाको समूहले जिल्ला नेता पाण्डेमाथि गोली हानिएको प्रहरीले जनाएको छ । कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि दुईवटा गोली लागेको छ । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपीका अनुसार घाइते पाण्डेको स्वास्थ्यअवस्था खतरामुक्त रहेको छ । नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले पाण्डे र अभियुक्तहरुबीच व्यावसायिक लेनदेन विषय हुनसक्ने भन्दै थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।