काठमाडौं– पार्टी भित्रको विवाद समाधानका निम्ति गठन भएको कार्यदलको बैठक आज हुन सकेन । आज बुधबार साँझ ७ बजे सिंहदरबारमा बस्ने भनिएको दोस्रो बैठक स्थगन भएको हो । आज बस्ने भनिएको दोस्रो बैठक भोलि अपरान्ह ५ बजे बस्ने गरी तय भएको कार्यदलका एक सदस्यले जानकारी दिए ।

भोलि बिहीबार बाग्मती प्रदेशबाट राष्ट्रिससभामा प्रतिनिधित्व गर्ने सांसद्को उप–चुनाव हुँदैछ । बागमती प्रदेशमुकाम मकवानपुरको हेटौंडामा रहेको भुटनदेवी माध्यमिक विद्यालयलाई मतदान केन्द्र बनाइएको छ । राष्ट्रिय सभा सदस्यका लागि रिक्त रहेको एक पदमा बिहीबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुँदैछ । ओली पक्षका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई मत नदिने निर्णय खनाल–नेपाल पक्षले गरिसकेको छ ।

विवाद समाधानको सुत्र पहिल्याएर आउन भनि आइतबार गठन भएको कार्यदलको समय सीमा तीन दिनको लागि तोकिएको थियो । राष्ट्रियसभामा गृहमन्त्री बादललाई जिताउने अभियानको तुरुपका रुपमा विवाद समाधान कार्यदल गठन गरिएको हुनसक्ने राजनीति वृत्तमा विश्लेषण गरिएको थियो । तीन दिनको समय सीमा घर्किएको र भोलि साँझसम्म उप–चुनावको मत गणना भैसक्ने छ । ओली र खनाल–माधव पक्षले त्यसपछि कुन बाटो अवलम्बन गर्ने हुन् भोलि हुने उप चुनावको परिणामले बाटो तय गर्ने छ ।