काठमाडौं – कोभिड सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर अब नेपालमै उत्पादन गरिने भएको छ । नेपाल औषधि उत्पादक सङ्घले नेपालमै उत्पादनका लागि औषधि व्यवस्था विभागको अनुमति पाइसकेको जनाएको छ । सङ्घले जनाए अनुसार, “हामी रेम्डिसिभिर उत्पादनको अन्तिम प्रक्रियामा छौं । नेपालमा यसको परीक्षण पास भइसकेको छ, छिट्टै उत्पादनको काम सुरु गर्दैछौँ ।” नेपालमै यो औषधि उत्पादन हुने भएपछि कोभिड सङ्क्रमित बिरामीको उपचारमा सहज हुने विश्वास नेपाल औषधि उत्पादक सङ्घको छ ।
यसअघि भारतबाट आयात गरिँदै आएको रेम्डिसिभिर भारतले आफ्नै देशमा सङ्क्रमण उच्च भएपछि निर्यात बन्द गरेको थियो । वैशाख दोस्रो सातायता औषधि व्यवस्था विभागले बंगलादेशबाट रेम्डिसिभिर आयात गरी अस्पतालहरुमा वितरण गर्दै आएको छ । अस्पतालमा भर्ना भएका कोरोना सङ्क्रमितका लागि भने चिकित्सकको सिफारिसमा आयातकर्ता कम्पनी आयान हेल्थकेयर कुपण्डोलबाट रेम्डिसिभिर बिक्री गर्ने व्यवस्था मिलाइएको छ ।