काठमाडौं – बागमती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद् उप–निर्वाचन भोली जेठ ६ गते हुँदैछ । उक्त उप–निर्वाचनको लागि नेकपा एमालेको ओली पक्षले माओवादी केन्द्र त्याग गरेका गृहमन्त्री रामबहादुर थापा‘बादल’ लाई उम्मेदवार बनाएको छ । त्यसैगरी एमालेकै असन्तुष्ट पक्ष खनाल–नेपाल पक्षले डा. खिमलाल देवकोटालाई नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जसपाको समर्थनमा उम्मेदवार बनाएको छ ।
एमाले भित्रको विवाद चुलिंदै गएको बेला खनाल–नेपाल पक्षले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको हो । देवकोटा माधवकुमार नेपाल निकट बुद्धिजीवी मानिनु हुन्छ । यतिबेला एमाले पार्टी भित्रको विवादलाई मिलाउन दुवै पक्षबाट पाँच, पाँच जना सदस्य रहने गरी कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले ठोस एजेण्डामा पसेर काम गरेको छैन ।
यसैबीच भोलि हुने राष्ट्रियसभा उप–निर्वाचनमा खडा गरिएका दुवै उम्मेदवार एमालेका हुन् । वरिष्ठ नेता खनाल–नेपाल समूहले नवप्रवेश एमाले नेता तथा गृहमन्त्री रामबहादुर थापाको पक्षमा मत हाल्छन् या आफुले उठाएका उम्मेदवार डा. खिमलाल देवकोटालाई, यतिबेला खनाल–नेपाल पक्षलाई ठूलो चुनौती रहेको देखिन्छ ।

प्रधानमन्त्रीले एमाले पार्टीको तर्फबाट आज जारी गर्नु भएको ह्वीप विज्ञप्तीमा ‘जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुनुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पु¥याउने छ । तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु’, भनि उल्लेख गरिएको छ ।

अध्यक्ष ओलीले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय एमाले पार्टीमा कल्पना बाहिरको कुरा रहेको भन्दै एमाले भएर एमाले उम्मेदवारलाई मत नदिने विषय क्षमायोग्य नहुने भन्दै विज्ञप्तीमार्फत् चेतावनीयुक्त अभिव्यक्ति दिनुभएको छ । उक्त विज्ञप्तीमा ‘यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनैपनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैन’ भनिएको छ ।

हिजो मात्रै गृहमन्त्री बादल एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वरमा पुगेर आफुलाई राष्ट्रियसभामा जिताउन याचना गर्नु भएको थियो । वरिष्ठ नेपालले आफुले आफ्नै पहलमा डा. खिमलाल देवकोटालाई उम्मेदवारी दिन लगाएकोले त्यसमा अन्यथा गर्न नसकिने भन्दै गृहमन्त्री बादललाई मत नदिने प्रष्ट पार्नु भएको थियो । सोही विषयलाई पुष्टिगर्दै वरिष्ठ नेता नेपालको सचिवालयले हिजै साँझ वक्तव्य समेत जारी गरेको थियो ।

आज प्रधानमन्त्री ओलीले गृहमन्त्री बादलको पक्षमा मत हाल्न पार्टीको ह्वीप स्वरुप वरिष्ठ नेताद्वय खनाल–नेपाल समूहलाई चेतावनी नेता नेपालले जारी गरेको विज्ञप्तीलाई काउन्टर दिनु भएको विश्लेषण गरिएको छ । अध्यक्ष ओलीले ‘एमालेको आधिकारिक उम्मेदवारलाई मत नदिए क्षमा गर्न नसकिने’ चेतावनी दिनुभएको छ ।

‘हामी सबै जनप्रतिनिधिहरु पार्टीका तर्फबाट उम्मेदवार बनेका हौं । पार्टीका सयौं कार्यकर्ताहरु र हजारौं मतदाताहरुको अमूल्य मतबाट विजयी बनेर यस जिम्मेवारीमा आएका हौं । निर्वाचन अभियानका क्रममा र विजयपछि पार्टी घोषणापत्रमा उल्लेख गरिएका विषयहरु जसरी पनि पूरा गरी छाड्ने छौं भनेर हामीले जनतामाझ प्रतिवद्धता गरेका छौं । हामी सबैले पार्टी सदस्यता लिँदा, विभिन्न तहका जिम्मेवारी बहन गर्दा प्रत्येक पटक पार्टीप्रति वफादार हुने र पार्टीे हित विपरित काम नगर्ने सपथ लिई आएका छौं । आफ्नै शपथ कुन स्वार्थ, के कारण वा कस्तो बाध्यताले हामी पालन नगर्ने बिन्दूमा पुग्छौं ? पार्टी जीवनमा यो अकल्पनीय हो, यसो हुनै सक्दैन ।’ प्रधानमन्त्री ओलीले पार्टीको तर्फबाट निकाल्नु भएको विज्ञप्तीमा भनिएको छ ।
पार्टी अध्यक्ष ओलीद्वारा हस्ताक्षरीत उक्त विज्ञप्तममा भनिएको छ ‘प्रत्येक चुनौतीपूर्ण घडीमा हामीले आफूलाई उम्मेद्वार बनाउने पार्टीको निर्देशनलाई पालना गर्नु, आफूलाई जिताउन अहोरात्र खट्ने कार्यकर्ताको भावनालाई सम्मान गर्नु र जनतामाँझ आफूले गरेका वाचाहरुप्रति हमेशा वफादार रहनु हामी सबैको कर्तव्य हो ।’

‘अहिले पार्टीभित्र देखा परेका समस्याको समाधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत सुरु भइसकेको’ भन्दै अध्यक्ष ओलीले ‘यस निर्वाचनमा हाम्रो एकताबद्ध सङ्कल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाइमा पु¥याउने छ । अतः यस निर्वाचनमा पार्टीका उम्मेद्वार माननीय रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गर्दछु’, भनि विज्ञप्तीमार्फत् पार्टीका मतदाताहरुलाई अपिल गर्नुभएको छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीका मतदाता जनप्रतिनिधिहरुलाई चेतावनीयुक्त भाषाशैलीमा विज्ञप्ती निकालेर राष्ट्रियसभाको भोलि हुने उप–निर्वाचनमा रामबहादुर थापा ‘बादल’ लाई मतदान गर्न अपिल गर्नुभएको छ । पार्टी भित्र विवाद मन्थर हुन लागेको अवस्थामा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको यो विज्ञप्तीले दुवै पक्षमा पुनः दरार आउने मात्र नभै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का निम्ति पनि थप चुनौती बन्न सक्दछ ।