काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई जिताउन पार्टीका मतदातालाई अपील गर्नु भएको छ । बागमतीमा राष्ट्रियसभाको उपनिर्वाचन जेठ ६ गते अर्थात् भोली हुँदैछ । चुनाव हुने अघिल्लो दिन आज अध्यक्ष ओलीले पार्टीभित्र नै विवाद रहेको स्वीकार गर्दै यस्तो अपील गर्नु भएको हो ।
‘अहिले पार्टीभित्र देखापरेका समस्या समाधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत सुरु भैसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्नु हामी सबैको कर्तव्य हो’ अध्यक्ष ओलीले अपीलमा भन्नु भएको छ, ‘पार्टीको आधिकारिक उमेदवारविरुद्ध उम्मेदवारी दिनु लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा कल्पना बाहिरको कुरा हो ।’ साथै ओलीले पार्टी निर्णयविरुद्ध गएर मतदान गरे पार्टीका लागि स्वीकार्य या क्षम्य नहुने पनि बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा रामबहादुर थापा पार्टीका उम्मेदवार भएको भन्दै नेपालको कम्युनिस्ट आन्दोलनको एक वरिष्ठ नेता भएको बताउनु भएको छ । ‘उहाँको विजयले कम्युनिस्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने छ । तसर्थ, यस निर्वाचनमा एकताबद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु’, ओलीको आग्रह छ ।