काठमाडौं– पार्टीको विवाद समाधान गर्न गठित कार्यदलको दोस्रो बैठक आज (बुधबार) साँझ ७ बजे सिंहदरबारमा बस्ने भएको छ । पार्टी फुटको डिलमा पुगेका बेला एकाएक प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालको बीच पार्टीलाई एकतावद्ध बनाउने गरी अचुक अस्त्र निकाल्न १० सदस्यी कार्यदल गठन भएको थियो । उक्त कार्यदलको पहिलो बैठक हिजो सिंहदरबारमा बसेको थियो । हिजो अपरान्हतिर बसेको कार्यदलको बैठक ठोस एजेण्डामा प्रवेश नगरी सामान्य छलफल गरेर सकिएको थियो ।

विभाजनको सङ्घारमा पुगेको एमालेलाई एकताबद्ध बनाउने हो भने २०७५ जेठ २ गते अघिकै अवस्थामा फर्काउनु पर्ने अडानमा वरिष्ठ नेताद्वय खनाल–नेपाल समूह छ । तर अध्यक्ष केपी ओली भने अबपछि फर्किन नमिल्ने भन्दै सबैलाई मिलाएन जानु पर्ने बताउनु हुन्छ । दुवै शीर्ष नेताहरु आ–आफ्नै अडानमा रहेको स्रोतको भनाइ छ । तर दुवै पक्षको सहमतिका साथ त्यहाँ फर्किने आधार निर्माण गर्न १० सदस्यीय कार्यदललाई जिम्मा दिएको छ । उक्त कार्यदलले तीन दिनभित्र पार्टी एकताको लागि सुत्र पत्ता लगाउने अपेक्षा गरिएको छ ।

यसैबीच बागमती प्रदेशको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद्को उप–निर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले खनाल–नेपाल समूहको मतलाई अन्यत्र जान रोक्नका लागि यो अस्त्र प्रयोग भएको राजनीति वृत्तमा चर्चा छ । भोलि जेठ ६ गते राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद्को उप–निर्वाचन हुँदैछ । ओली पक्षबाट माओवादी त्यागेका गृहमन्त्री रामबहादुर थापा बादल र वरिष्ठ नेताद्वय खनाल–नेपाल पक्षबाट विकास विज्ञका रुपमा मानिएका डा. खिमलाल देवकोटा उम्मेदवार हुनुहुन्छ । डा. देवकोटालाई प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र जनता समावादी पार्टी उपेन्द्र यादव पक्षको समर्थन रहेको छ । एमाले वरिष्ठ नेता खनाल–नेपालको मत जता गयो उही उम्मेदवारले राष्ट्रियसभामा जित्ने निश्चित् छ ।