काठमाडौं – काठमाडौं उपत्यकामा दुई दिन यता कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा केही कमी देखिएको छ । सरकारले निषेधाज्ञामा कडाइ गरेपछि सामान्य रुपमा कमी आएको हो । उपत्यकामा सङ्क्रमणको दर घट्दो क्रममा छ । सोमबार ३ हजार ९८ जनामा सङ्क्रमण भएकोमा हिजो २ हजार ६ सय ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार सोमबारको तुलनामा हिजो मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या न्यून छ । आइतबार देशभर कोराना भाइरसको सङ्क्रमणबाट सङ्क्रमित र मृत्यु हुने सङ्ख्या घटेको थियो भने सोमबार पुनः बढेको थियो । सोमबार ९ हजार २ सय ४७ जना सङ्क्रमित भएकामा हिजो मङ्गलबार यो सङ्ख्या घटेर ८ हजार २ सय ३ मा झरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो देशका विभिन्न प्रयोगशालामा २० हजार २ सय ८६ जनाको पीसीआर र ६ सय ९३ जनाको एन्टिजेन परीक्षणको क्रममा थप ८ हजार २ सय ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४ लाख ७२ हजार ३ सय ५४ जना पुगेको छ भने यो सङ्क्रमणलाई जितेर घर फर्किनेको सङ्ख्या ३ लाख ५२ हजार ४ सय १४ रहेको छ । पछिल्लो समय दैनिक रुपमा कोरोना भाइसरको सङ्क्रमणलाई जितेर घर फर्किनेको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर बढेसँगै हाल नेपालमा सक्रिय सङ्क्रमित हुनेको सङ्ख्या १ लाख १४ हजार ५ सय २९ पुगेको छ ।

भारतमा पछिल्लो केही दिन यता कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा कमी आइरहेको छ । भारतमा सोमबार २ लाख ८१ हजार ३ सय ३८ जना सङ्क्रमित भएका थिए भने हिजो मङ्गलबार २ लाख ६३ हजार जनामा सङ्क्रमण पुष्टिभएको थियो । भारतमा हिजोसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुने सङ्ख्या २ करोड ५२ लाख २८ हजार ९ सय २९ जना पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या २ लाख ७८ हजार ७ सय १९ जनाले ज्यान गुमाइ सकेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।