काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेकोे जनाएको छ । यही बैशाख ६ गते हेटौंडाको भुटनदेवी माविमा मतदान हुँदैछ । निर्वाचनका लागि मतपत्र तथा मतपेटिकाको व्यवस्थाका साथै मतदान केन्द्रमा गर्नुपर्ने तयारी सकिएको निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि  बैशाख ६ गते हेटौंडाको भुटनदेवी माविको प्राङ्गणमा ३ वटा मतदान केन्द्र तयार पारिएको छ । साथै जिल्ला न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृतमा नियुक्त गरी उहाँको नेतृत्वमा निर्वाचनको काम अघि बढाएको हो । 
प्रदेशसभा सदस्यका लागि एउटा केन्द्र, स्थानीय तहका जनप्रतिनिधिका लागि एउटा केन्द्र र कोरोना सङ्क्रमित भएका मतदाता जनप्रतिनिधिका लागि छुट्टै मतदान केन्द्र तयार गरिएको छ । कोरोना महामारीको जोखिम बढ्दै गएकोले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मतदान अघि हात धुनुपर्ने नियम छ । यो उपनिर्वाचनका लागि कूल ३ सय ४८ जना मतदाता रहेका छन् । प्रदेश सभा सदस्य १ सय १० रहेका छन् स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख तथा उपप्रमुख २ सय ३८ जना रहेका छन् । मतदानका लागि उपस्थित मतदाताहरुको ४८ घण्टाभित्रको पीसिआर रिर्पोट अनिवार्य गरिएको छ ।
 मतदान केन्द्रमा  प्रवेश अगाडि नै गेटमा अनिवार्य रुपमा सावुन पानीले हात धुने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । यस्तै मास्क, सेनिटाइजर अनिवार्य गरिएको छ भने मतदाताले २ मिटर दुरी अनिवार्य कायम गर्नु व्यवस्था गरिएको छ । यस्तै कोरोना सङ्क्रमित मतदाताले भोट खसाल्ने केन्द्रमा सुरक्षाकर्मी तथा कर्मचारीले मास्क, पञ्जा, फेस शिल्ड तथा पीपीई लगाउने व्यवस्था मिलाइएको छ ।