काठमाडौं – विवादमा रुमलिएको सत्तारुढ दल नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलका बैठक सिंहदरबारमा सुरु भएको छ । आज बिहानसम्म अनिश्चितता तर्फ धकेलिएको बैठक अन्योलताकै बीच अहिले भर्खरमात्र बैठक सुरु भएको हो ।
लामो समयदेखि देखिएको विवादलाई मिलाएर पार्टीलाई एकताबद्ध बनाएर लैजान एमालेको दुवै समूहबाट ५।५ जना गरी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको संयोजकत्वमा १० जनाको आन्तरिक विवाद समाधान गर्ने कमिटी गठन भएको थियो । तीन दिन भित्र विवाद समाधानको उपाय पेशगर्ने समय सीमा दिइएको कार्यदललाई विवाद समाधानको सूत्र पहिल्याएर प्रतिवेदन पेश गर्ने जिम्मा दिएको हो ।
आइतबार गठित कार्यदलले हिजो सोमबारबाट काम सुरु गर्ने भनिएता पनि बैठक बस्न सकेको थिएन । उक्त कार्यदलमा अध्यक्ष ओली समूहबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल भने वरिष्ठ नेताद्वय खनाल–नेपाल समूहबाट डा.भीम रावलको नेतृत्वमा घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट सदस्य रहका छन् ।