काठमाडौं – त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज एकै दिन नेपाली जहाजले ५ वटा अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । भारतीय नागरिकहरुलाई लिएर नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सले साउदी अरेवियाका लागि उडान भरिरहेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । नेपालमा निषेधाज्ञा घोषणा नहुँदै नेपाल घुम्न आएका भारतीय नागरिकहरु काठमाडौंमै रोकिएले उनीहरु काठमाडौंबाट साउदी अरेविया जान साउदी र भारत सरकारको अनुमति लिएन जान लागेका हुन् ।

विमानस्थल कार्यालयका अनुसार आज नेपाल वायुसेवा निगमका दुई र हिमालय एयरलाइन्सका जहाजले तीन गरी पाँच जहाज साउदी जान लागेका हुन् । जसमध्ये हिमालयन एयरलाइन्सले बिहान २ वटा उडान गरिसकेको छ । नेपाल वायुसेवा निगम दुई र हिमालयन एयरलाइन्सकोे बाँकी एक जहाज साँझमा भारतीय यात्रु बोकेर जाँदैछन् ।

नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सका ती सबै उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ । ती विमान कम्पनीमध्ये नेपाल वायुसेवा निगमलाई ७ वटा र हिमालय एयरलाइन्सलाई ३ वटा अन्तर्राष्ट्रिय उडान गर्न अनुमति दिएको छ । यसै अनुरुप निगमका विमानले १९, २०, २१ २२ र २३ तारिखमा थप उडान गर्ने भएका छन् । विमानस्थल कार्यालयका अनुसार आज बेइजिङबाट नेपाल एयरलाइन्सको जहाज अक्सिजन सिलिण्डर लिएर आउँदैछ । यो जहाज पुनः सिलिण्डर लिन आजै राती बेइजिङ जाने कार्यक्रम छ ।

आज बिहान हिमालय एयरलाइन्सको जहाज कुनमिङबाट कार्गो लिएर आएको थियो भने उक्त कम्पनीको अर्को जहाज आज राति कुनमिङ जाने छ । आज नेपालमा रहेका रसियाली नागरिकलाई घर फर्काउन रसियन एयरलाइन्सको जहाज मस्कोबाट आएको छ । यो जहाज मस्कोका लागि उडिसकेको विमानस्थल कार्यालयले जनाएको छ ।