काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा स्वास्थ्य मापदण्ड पुरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ ।  कोभिड १९ सङ्क्रमणका बिरामीको संख्या बढेसँगै विभिन्न सङ्घ–संस्थाहरुले आइसोलेसन सेन्टर खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विनाका आइसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ । ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिन्डर लगायत सामाग्री राखेर आइसोलेसन सेन्टर खोल्ने होडबाजी जस्तो नै चल्न थालेपछि मन्त्रालयले जथाभावी आइसोलेसन सेन्टर नखोल्न सचेत गराएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले आइसोलेसन सेन्टर खोल्दै गर्दा आवश्यक स्वास्थ्यकर्मीहरु, उपचारमा चाहिने उपकरणहरु, औषधीहरु र क्रिटिकल केयरका लागि लैजाने अस्पतालहरूको समन्वय, प्रत्यक्ष निगरानीका सुनिश्चितता गर्न सुझाव दिनु भएको छ । उहाँले सामान्य भौतिक पूर्वाधारको व्यवस्था गरेर मात्रै स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने गरी बनाइएका आइसोलेसन केन्द्रहरु स्वास्थ्यका हिसावले अर्को घातक हुनसक्ने बताउनुभयो ।
उहाँले बताए अनुसार– ‘पछिल्लो समय आइसोलेसनको नाममा मानिसहरु जम्मा गरेर बस्न मिल्ने ठाउँहरु धेरै व्यवस्थापन गर्न खोजिएको देखिन्छ । तर हामी सबैले बुझ्नुपर्ने विषय चाहिँ मानिसहरु आइसोलेसनमा आफ्नो घरको छुट्टै कोठामा बस्नुभन्दा उपयुक्त अर्को ठाउँ कहीँ पनि हुँदैन ।’उहाँले ‘स्वास्थ्य जटिलता, अलिकति गाह्रै भयो भने हामीले जुन मापदण्ड पालना गर्न नसक्ने गरी बनाइएका आईसोलेसन केन्द्रहरु चाहिँ स्वास्थ्यका हिसावले अर्को घातक हुनसक्छ कि भन्ने डर छ । हामी सङ्क्रमणको आशङ्कामा पुग्यौ भने अलग्गिएर बस्ने, परीक्षण गराउने, सङ्क्रमण पुष्टि भइसकेपछि पनि आफ्नो घर परिवारको अरु सदस्यलाई नभेटेर छुट्टै बस्ने गर्यौ र स्वास्थ्यमा कुनै समस्या भएन भने त्यो सबैभन्दा धेरै उपयुक्त हुन्छ । अर्को हामीले आइसोलेसन सेन्टरहरु स्थापना गर्दा स्वास्थ्यकर्मीहरु, त्यहाँ चाहिने उपकरणहरु, औषधीहरु र त्यहाँ गाह्रो हुने बित्तिकै क्रिटिकल केयरका लागि स्वास्थ्य जटिलताका लागि लैजाने अस्पतालहरूको समन्वय, प्रत्यक्ष निगरानी हुने गरी गरेनौ भने हामीलाई गाह्रो हुन्छ ।’
अधिकारीले टोल टोलमा आईसोलेसन सेन्टरका नाममा स्वास्थ्य सामाग्रीहरुको ठूलो खपत हुने र साँच्चै आवश्यक पर्ने अस्पतालहरुमा उपचार सामाग्रीको अभाव हुन सक्ने स्थिति श्रृजना भएकाले आफुहरु चिन्तित बनेको बताउनुभएको छ । उहाँले कोभिड १९ को उपचार नभइरहेको अवस्थामा सङ्क्रमण रोक्ने किसिमका गतिविधिमा विशेष ध्यान दिन पनि आग्रह गर्नु भएको छ ।