काठमाडौं – कोरोना महामारीको यो विषम परिस्थितिमा आज सर्वोच्च अदालतमा पहिलोपटक भर्चुअल माध्यमबाट बहस भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा बन्दीप्रत्यक्षीकरण मुद्दामा आज मङ्गलबार कानुन व्यवसायीहरुले भिडिओ कन्फरेन्सको माध्यमबाट बहस गर्नु भएको हो ।
कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सर्वोच्च अदालतले भर्चुअल माध्यमबाट इजलासमा बहस गर्ने व्यवस्थाको मिलाएको हो । भर्चुअल माध्यमबाट सर्वोच्चमा पहिलोपटक बहस शुरु भएको बताइएको छ । बन्दीप्रत्यक्षीकरण मुद्दामा अधिवक्ता विजयप्रसाद मिश्र, धर्मराज पौडेल, सर्वोच्चमा कार्यरत वैतनिक वकिल रजिता थापा र दिनेश प्रसाद शर्मा सहितका कानुन व्यवसायीले आज मङ्गलबार बहस गर्नु भएको छ । वैतनिक वकिल थापाले कारागारमा थुनामा रहेका बाबुराम पासवानको तर्फबाट बहस गर्नु भएको हो ।