काठमाडौं – नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको पहिलो बैठक आज बस्ने  भएको छ ।अहिले दिउँसो तीन बजेपछि कार्यदलको बैठक बस्ने भएको हो । एमालेमा चुलिएको आन्तरिक विवाद समाधानका लागि संस्थापन र असन्तुष्ट समूहबीच कार्यदल बनाउने सहमति भएको थियो । यो कार्यदललाई विवाद समाधानको सूत्र पहिल्याएर ल्याउन तीन दिनको समय दिइएको थियो ।
तर समय दिइएको पहिलो दिन सोमबार केही नेताहरु अस्वस्थ रहेको भन्दै कार्यदल बैठक बस्न सकेको थिएन । आज पनि १० जना सदस्य रहेको कार्यदलका केही नेताहरु उपत्यका बाहिर छन् । एमाले संस्थापन समूहबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल कार्यदल सदस्य छन् । यस्तै माधव समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।