काठमाडौं – विभाजनको सङ्घारमा पुगेर रोकिएको सत्तारुढ दल नेकपा एमाले भित्रको विवाद निरुपण गर्न गठित कमिटीको बैठक अन्योल बन्दै गएको छ । आज मङ्गलबार बस्ने भनिएको बैठक पनि अनिश्चित बन्दै गएको छ । हिजो प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको जुहारी २८ औं मदन–आश्रित स्मृती दिवसका अवसरमा छुट्टा छुट्टै विज्ञप्तिमार्फत् एक अर्कालाई गालि र आरोप लगाइएको थियो ।

एमालेलाई माओवादी केन्द्रसँग भएको एकतापूर्व कै अवस्थामा फर्काउन अध्यक्ष केपी शर्मा ओली सहमत भए पछि पार्टी भित्रको विवाद समाधान गर्न १० सदस्यीय कार्यदल बनेको थियो । तर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली भने अब २०७५ जेठ २ गतेको अवस्थामा पुग्न नसकिने सङ्केत गर्दै, परिस्थिति निकै अघि बढिसकेकाले त्यहाँ पुग्न कठिन हुने बताउँदै आउनु भएको छ । तर वरिष्ठ नेता नेपाल पक्षले भने २०७५ जेठ २ मै फर्कनुपर्ने अडान राख्दै आएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा अस्ति आइतबार छलफल हुँदा तीन दिनभित्र विवाद समाधान गर्नेगरी प्रतिवेदन पेस गर्न कार्यादेश दिएको भनिएता पनि कार्यदलको बैठक बस्न सकेको छैन । तर प्रधानमन्त्रीका विश्वास पात्र तथा एमाले संसदीय दलका नेता एवम् कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङ भने नेताहरुको कार्यव्यवस्ताका कारण बैठक बस्न नसकेको बताउनु हुन्छ । कार्यदलका साथीबीच अनौपाचारिक रुपमा छलफल भैरहेको उहाँको दावी छ ।