काठमाडौं – नयाँ आर्थिक वर्षको बजेट घोषणा गर्ने दिन (जेठ १५) नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अल्पमतको सरकार सकसमा परेको छ । आगामी जेठ १५ गते संसदबाट कसरी बहुमत जुटाएर बजेट पास गर्ने भन्नेमा अल्पमतको सरकारलाई सङ्कट आइलागेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट जेठ १५ मा ल्याउनैपर्ने हुन्छ । तर, संसदमा विश्वासको मत लिएपछि बजेट ल्याउने कि बजेट ल्याइसकेपछि विश्वासको मत लिने भन्ने प्रधानमन्त्री ओलीले अझै निर्णय लिन सकेका छैनन् ।
संविधानमा भएको व्यवस्थाअनुसार आर्थिक वर्षको बजेट आगामी जेठ १५ गतेभित्रै ल्याइसक्नुपर्छ । संसदमा विश्वासको मत लिन नसकेर ढलेको नेकपा एमाले नेतृत्वको सरकार ठूलो दलको हैसियतले मात्र अहिले पुनस्र्थापित छ । यस्तो अवस्थामा अल्पमतको सरकारले बढीमा एक महिनाभित्र संसद्मा विश्वासको मत लिइसक्नुपर्छ । बजेट ल्याउनुपूर्व सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसदबाट पास भएर त्यसपछि बजेट पारित भई राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि मात्र कार्यान्वयनमा जान्छ । तर, यतिखेर सरकार अल्पमतमा परेको छ । संसदमा बजेट पारित गर्ने गरी बहुमत छैन ।