काठमाडौं – काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको बताउनु भएको छ । सोमबार निषेधाज्ञाको अनुगमन गर्न नागढुङ्गा नाकामा पुग्नु भएका प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको र चेक जाँचलाई पनि कडा बनाइएको बताउनु भएको हो । अत्यावश्यक बाहेकका कुनैपनि सवारी साधन नचलेको उहाँले दाबी छ । 
 उहाँले भन्नुभयोे– ‘नियमित रुपमा निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन गरिरहेका छौं । हामीले विभिन्न कामको चेक गर्दै अहिले नागढुङ्गा नाकामा आइसकेका छौं । अत्यावश्यक गाडी बाहेक अरु कुनैपनि चलेको अवस्था छैन । निषेधाज्ञा पूर्ण पालना भएको छ । कार्यान्वयन भएको छ । चेक जाँचलाई कडा बनाइएको अवस्था छ । यो अवधिमा हामीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेना सबैको संयोजनमा प्रभावकारी रुपमा नै कार्यसम्पादन गरेको अवस्था छ । नेपाल प्रहरीले मास्क नलगाउने व्यक्तिलाई ६ लाख जरिवाना गरिसकेको छ । अहिलेसम्म ३० हजार गाडीहरु होल्डिङमा परेको अवस्था छ ।’
  प्रमुख जिल्ला अधिकारी पराजुलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको संयुक्त संयोजनमा प्रभावकारी रुपमा कार्यसम्पादन भएको पनि बताउनुभएको छ । नेपाल प्रहरीले मास्क नलगाउने व्यक्तिहरुलाई कारबाही गरी ६ लाख रुपैयाँ जरिवाना गरिसकेको तथा निषेधाज्ञाको उल्लङ्घन गर्ने ३० हजार सवारी साधनलाई हालसम्म होल्डिङमा राखिएको पनि जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी पराजुलीले विभिन्न चेक पोइन्टहरुमा अनुगमनलाई तिव्रता दिइएको जानकारी दिनुभएको छ ।