काठमाडौं – भन्सार विभागले स्वास्थ्य सामग्रीसहित अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ खटाएको छ । भन्सार विभागका महानिर्देशक यमलाल भूसालले अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन विभागले ‘क्विक रेस्पोन्स टिम’ बनाएर काम गरेको जानकारी दिनु भएको छ । भन्सार प्रशासनले कोरोना महामारीमा खेलेको भूमिका सम्बन्धमा सोमबार आयोजित भर्चुअल छलफल कार्यक्रममा उहाँले यस्तो जानकारी गराउनु भएको हो । अर्थमन्त्री विण्णु प्रसाद पौडेलसहितको आजको बैठकमा कोरोना रोकथाम र उपचारसँग सम्बन्धित सामग्रीको भन्सार जाँचपास छिटो र छरितो बनाउन निर्देशन दिइएको छ ।
अर्थमन्त्री पौडलले नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जा लगायतका सामग्रीहरुको बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिनु भएको छ । एकातिर कोभिड–१९ बाट जोगिनु पर्ने र अर्कातिर प्रभावकारी रुपमा कार्य सम्पादन गर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न समेत सुझाव दिनु भएको छ । अर्थमन्त्री पौडेलले कोभिड–१९ को उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्य सहित दैनिक रुपमा जानकारी गराउन पनि निर्देशन दिनुभयो ।
अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीहरुको भन्सार जाँचपास सम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिनुभएको छ । राजस्व सचिव रामशरण पुडासैनीले छिटो जाँचपासका लागि छिमेकी मुलुकको भन्सार कार्यालयहरुसँग समन्वय गरी चौबिसै घण्टा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभएको हो । भन्सार विभागका अनुसार केन्द्र स्तरमा हुने अधिकांश कामलाई अहिले अनलाइन प्रणालीबाट व्यवस्थित गरिएको छ ।