काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको आज ८६ वर्षका उमेरमा निधन भएको छ ।  सूर्यविनायक नगरपालिका वडा नं ९ नखेल स्थायी घर भई केही वर्षदेखि काठमाडौं, बानेश्वर बस्दै आएका खत्रीको आज बिहान एभरेष्ट नर्सिङ होममा उपचारका क्रममा निधन भएको एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति शुरु गर्दै तत्कालीन जिल्ला विकास समितिका सभापति भएका खत्री  २० वर्षदेखि एमालेमा रहँदै आउनु भएको थियो । उहाँले एमालेबाट भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएता पनि पराजित हुनु भएको थियो ।
वि.सं १९९२ जेठ १० गते नखेल, शान्ति गाउँमा जन्मिनु भएका खत्री साहित्य र समाजसेवामा पनि  सक्रिय रहँदै आउनु भएको थियो । भक्तपुरमा साहित्य मन्दिरको स्थापनादेखि सडक, पुलको निर्माण एवं विद्यालय स्थापनामा उहाँले अतुलनीय योगदान दिनु भएको छ । भक्तपुरबाट  १८ वर्षदेखि प्रकाशन हुँदै आएको ‘समय समाज’ साप्ताहिकका संस्थापक अध्यक्ष  खत्रीले पत्रकारिता क्षेत्रमा पनि योगदान पुर्याउनुभएको पत्रिकाका अध्यक्ष बालमुकुन्द सुवालले बताउनुभयो । 
जनजागरण निबन्ध संग्रह, रोगको घर, बारुलो र माहुरी, (बालकथा संग्रह र  किशोर निबन्ध संग्रह), ए बाउ घर छोडी जाऊ (गीतिकवितासंग्रह), हामी अब गर्छौ (लघुकाव्य), परिवर्तित पाइला (नाटक), खुलाल खत्रीको खोज (अनुसन्धानात्मक पुस्तक) लगायत महाकाव्य, कथा, बालगीत, नाटकलगायत उहाँका विभिन्न विधाका १४ कृति प्रकाशित छन् । सामाजिक विकृति र विसङ्गतिविरुद्ध साहित्यमार्फत कलम चलाउँदै आउनु भएका खत्रीलाई साहित्यमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न संस्थाले सम्मानसमेत गरेका थिए ।