काठमाडौं– नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई चेतावनी दिएको छ । कोरोना महामारीको दोस्रो लहरमा पनि नीजि सञ्चार गृहहरुले श्रमजीवि पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासङ्घले कुनै पनि बहानामा पत्रकारको रोजगारी नखोस्न चेतावनी दिएको हो । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई निस्काशन नगर्न आग्रह गर्नु भएको छ ।उहाँले कोभिड १९ को पहिलो लहरमा जस्तै दोश्रो लहरमा पनि पत्रकारहरुलाई निस्काशन गर्न सुरु गरिएको र निष्काशित भएका पत्रकारहरुको निम्ति महासङ्घले कानूनी लडाइँ लड्नुको साथै दबाबमुलक काम गरिरहेको बताउनुभयो ।
महासङ्घले कोभिडको दोश्रो लहरमा निष्काशनमा परेका ९ जनाको पुर्ननियुक्ति समेत गराएको महासचिव पुरीले जानकारी दिनुभएको छ । त्यसैगरी ५ वटा सञ्चार माध्यमलाई ७ दिन भित्र पत्रकारहरुको समस्या समाधान गर्न अल्टिमेटम दिएको पनि उहाँले उल्लेख गर्नु भएको छ । पत्रकार महासङ्घले कोरोना सङ्क्रमित पत्रकारहरुलाई उपचारका लागि सहजीकरण पनि गरिरहेको छ । पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा रहेको आवासगृहमा पनि आइशोलेसन बेड निर्माण गरिएको छ । त्यसैगरि दाङ, रोल्पा, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, बाग्लुङ, पर्वत लगायतका जिल्लामा अक्सिजन, चिकित्सकसहितको आइशोलेसन सेन्टर बनाएर उपचार गर्ने वातावरण बनाएको महासचिव पुरीले जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकामा सङ्क्रमित पत्रकारका लागि बेड, अक्सिजन, औषधि खोज्ने र बाहिरी जिल्लाबाट रिफर भईआएका पत्रकारलाई काठमाडौंमा बेड मिलाउने, आइसियु, भेन्टीलेटर मिलाउने जस्ता काम महासङ्घले गरिरहेको पनि उहाँले बताउनुभयो । महासङ्घका अनुसार, जेठ २ गते सम्म मुलुकभर गरि करिब ८ सय जना पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । २ सय ५० भन्दा बढी सक्रिय सङ्क्रमित छन्, भने ४० जना अस्पतालमा उपचार गराईरहेका छन् र ६ जनाको आइसियु र भेन्टीलेटरमा उपचार भईरहेको छ । कोरोना सङ्क्रमणबाट १३ जना पत्रकारले ज्यान गुमाएका छन् ।