काठमाडौं – दैनिक रुपमा कामको अवधि लामो हुँदा वार्षिक रुपमा सयौँ हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । काम गर्ने समय अवधि र स्वास्थ्यमा पर्ने असरबारे विश्वकै पहिलो बिस्तारित अध्ययन भएको हो । अध्ययन अनुसार सन् २०१६ मा दैनिक लामो अवधि काम गरेकै कारण स्ट्रोक वा मुटु सम्बन्धी रोगबाट विश्वभर ७ लाख ४५ हजार मानिसको ज्यान गएको थियो । यसबाट दक्षिण पूर्वी एसिया र पश्चिमी प्यासिफिक क्षेत्रका मानिस बढी प्रभावित भएको अध्ययनले देखाएको छ ।
कोरोना भाइरसको महामारीका कारण श्रृजित परिवेशले दैनिक कार्यअवधि र गम्भीर स्वास्थ्य समस्याको सिधा सम्बन्धलाई थप बढावा हुन सक्ने डब्लुएचओले जनाएको छ । हप्ताको ५५ घण्टा वा त्यो भन्दा बढि काम गर्नेहरुमा ३५ देखि ४० घण्टा काम गर्नेमा भन्दा स्ट्रोकका कारण मृत्यु हुने जोखिम ३५ प्रतिशतले बढ्ने अध्ययनले देखाएको छ ।
यस्तै मुटु सम्बन्धी रोगबाट मृत्यु हुने जोखिम १७ प्रतिशत बढी रहने पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) सँगको सहकार्यमा गरिएको अध्ययन अनुसार लामो अवधि काम गरेका कारण उत्पन्न स्वास्थ्य समस्याले मृत्यु हुने मध्ये झण्डै तीन चौथाई अधवैँशे वा पाको उमेरका पुरुष छन् । लामो अवधि गरेको कामको प्रभाव गम्भीर स्वास्थ्य समस्याका रुपमा वर्षौपछि पर्ने देखिएको पनि अध्ययनमा उल्लेख छ ।