रासस्
काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने बताउनु भएको छ । जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८औँ स्मृति दिवसका अवसरमा आज मदन भण्डारी फाउन्डेशनद्वारा भर्चुअलरुपमा आयोजित ‘समकालीन विश्व परिस्थिति र माक्सवादको सान्दर्भिकता’ विषयक जननेता भण्डारीको कोलकोतामा प्रस्तुत कार्यपत्र (पुस्तक) मा आधारित अन्तरक्रियामा पोखरेलले एमालेभित्रको विवादको समाधान कार्यदलमार्फत हुने स्पष्ट गर्नु भएको हो ।
एमालेभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा गठित कार्यदलका सदस्य पोखरेलले ‘जनताको बहुदलीय जनवाद’ को मार्गदर्शनमा रहेर यसलाई अझ विकास गर्दै समृद्धिको यात्रामा पार्टी र सरकारको नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । विश्वमा क्रान्तिपछिको रुपान्तरणमा समाजवादी पार्टीमा अलमल देखिने भए पनि नेपालका सन्दर्भमा उपयुक्तरुपमा क्रान्तिका कार्यभार पूरा गर्न जबज सार्थक रहेको उहाँले टिप्पणी गर्नुभयो ।
‘एकैपटक समाजवादी कार्यक्रम कि पूँजीवादी क्रान्तिको उपचरण हुँदै समाजवादको यात्रा भन्ने सन्दर्भमा कम्युनिस्ट आन्दोलनमा हाल दुईथरी धारणा देखिए पनि राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै क्रमशः समाजवादमा जाने वर्तमान सरकारको सोच र कार्यक्रम उपर्युक्त छ’, उहाँले भन्नुभयो, ‘एमाले संशोधनवादको विरोधी पार्टी हो तर हामी उग्र क्रान्तिकारितामा पनि विश्वास गर्दैनौं ।’कार्यक्रममा एमालेका नेता युवराज कार्कीले जनताको अभिमत लिएर शासन गर्ने र पार्टीलाई लोकतान्त्रिक ढङ्गले सञ्चालन गर्न सकेमा जबजको विचारको सम्मान हुने बताउनुभएको छ ।
फाउन्डेशनका केन्द्रीय सदस्य टीकाप्रसाद ढकालले माक्सवादी विचार र समाजवादी आन्दोलन विश्वबाट समाप्त हुँदैछ भन्ने पूँजीवादीको मतलाई भण्डारीले उक्त पुस्तकबाट विश्वसामु नै सशक्त वैचारिक प्रतिकार गरेको बताउनुभयो । फाउन्डेशनका सचिव पेम्बा लामाले जननेता भण्डारीका विचारलाई समयसापेक्ष विचारका रुपमा स्थापित गर्न बौद्धिक जगतमा अध्ययन र छलफल निरन्तर सञ्चालन गर्ने जनाउनुभयो ।