काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीलाई नयाँ ढङ्गले सञ्चालन गर्न पार्टीका नेता तथा कार्यकताहरुसँग राय सुझाव माग्नु भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत् पार्टी आन्दोलनको थप विकासका लागि कार्यकर्ता तथा आम नागरिकका तर्फबाट पनि राय–सुझाव माग गर्नुभएको हो ।
जनवादी राज्य व्यवस्था स्थापना गर्ने उद्देश्य लिएर २०५२ साल फागुनदेखि दश वर्षसम्म एकतावद्ध भएर जनयुद्ध लडेको उक्त पार्टी विभिन्न चरणपार गर्दै पटक पटक विभाजनको समस्या झेल्दै आएको छ । हिजो सँगै जनयुद्ध लडेका नेता कार्यकर्ताहरु अहिले विभाजित अवस्थामा छन् भने कोही राजनीतिबाट पलायनको अवस्थामा छ ।


हिजो एउटै मोर्चामा रहेर जनयुद्ध लडेका अध्यक्ष प्रचण्डका सहकर्मी योद्धाहरुले नेकपा नाम पछि आलङ्कारिक नाम राखेर पार्टी सञ्चालन गर्दै आउने भएको छ । प्रचण्डका राजनीतिक गुरु तथा जनयुद्धका योजनाकार मोहन वैद्य ‘किरण’ यतिबोला नेकपा (क्रान्तिकारी माओवादी) को नेतृत्व गरिरहनु भएको छ । त्यस्तै नेत्रविक्रम चन्द्र, गोपाल किराँतीजस्ता त्यसबखतका जुझारु युवाहरु अहिले माओवादी शब्दावली मै भुमmेर पार्टी सञ्चालनमै हुनुहुन्छ । तात्कालीन नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई अहिले मधेशवादी दल जनता समाजवादी पार्टीको सङ्घीय परिषद्को अध्यक्ष पदमा हुनुहुन्छ । त्यसैगरी रामबहादुर थापा ‘बादल’ लगायतका केही नेताहरु नेकपा एमालेमा विलय हुन पुग्नु भएको छ । यसरी जनयुद्ध लडेका सहकर्मीहरुले नेकपा माओवादी केन्द्र र नेतृत्वबाट अलग हुनुको मुख्य कारण के हो र पार्टी नेतृत्वबाट भएका कमिकमजोरीलाई आत्म समीक्षा गर्नु आवश्यक हुन्छ ।


जनयुद्धका बेला वैचारिक रुपमा उदाएको प्रचण्डपथको राजीतिक स्खलनले नै माओवादी केन्द्र अहिलेको अवस्थामा आइपुगेको विश्लेषण छ । विश्व कम्युनिस्ट आन्दोलनमै उदाउने अपेक्षा गरिएको प्रचण्डपथ दृष्टिकोण नै नेपाली कम्युनिस्ट आन्दोलनको किम्बदन्ती बन्न पुगेको छ । संसदीय व्यवस्थालाई आत्मसात् गर्न पुगेपछि नेकपा माओवादी केन्द्रको सैद्धान्तिक, वैचारिक र कार्यदिशामा स्खलन खाएको राजनीतिक विश्लेषक र सोही पार्टीका कार्यकर्ताहरु व्यक्त गर्दै आएका छन् ।


यस्तो अवस्थामा अध्यक्ष प्रचण्डले पार्टीलाई नयाँ सिराबाट अगाडि बढाउन लागि राय–सुझाव माग्नु भएको छ । “हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपाङ्ग एवं सहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढङ्गले अगाडि बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ । आफ्नो राय सल्लाह सुझाव पार्टीको इमेल ठेगानामा पठाउनु हुन अनुरोध छ,” अध्यक्ष प्रचण्डले भन्नुभएको छ ।


नेकपा एमालेसँग २०७५ जेठ ३ गते मदन–आश्रित स्मृती दिवसका दिन माओवादी केन्द्रको पार्टी एकता भएको थियो । उक्त एकता सँगै बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २०७६ सालपछि आन्तरिक रुपमा चरम विवादमा फस्दै आयो । झण्डै दुई तिहाईको सरकारको नेतृत्व गरेको सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले गत पुष ५ गते प्रतिनिधिसभा विघटना गरेपछि देशको राजनीतिले कोल्टेफेर्यो । प्रतिनिधिसभा विघटनका विरुद्ध सत्तारुढ दल नेकपाकै अध्यक्ष समेत रहनु भएका प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल लगायतको समूहका साथ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस लगायत सबै राजनीतिक दलहरुले प्रतिनिधिसभा विघटनाको प्रधानमन्त्री ओलीको कदमको देशव्यापी रुपमा विरोध भयो ।


प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले फागुन ११ प्रतिनिधिसभालाई पुनस्थापना गर्ने फैसला गर्यो । त्यसपछि विकसित हुँदै आएको राजनीति घटनाक्रमको बीचमा सर्वोच्च अदालतले फागुन २३ गते ऋषि कट्टेलले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीसँग नाम एउटैै भएको भनी तात्कालिन नेकपा एमाले र माओवाद केन्द्रको एकता वैधानिक नभएको ठहर गरिदियो । त्यस यता अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः राजनीतिक अस्तित्वमा देखिएका छन् ।


हिजो पार्टी एकता हुँदाका माओवादी केन्द्रका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह जस्ता स्थापित नेताहरु अहिले एमालेमा विलय हुनुभएको छ । यसले माओवादी केन्द्रलाई ठूलो क्षति पुगेको छ । बदलिंदो राजनीतिक पृष्ठभूमिमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी सञ्चालनका लागि राय सुझाव माग्नु भएको छ ।