काठमाडौं – कोरोनाको दोस्रो लहर बढ्दै गएपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्ला निषेधाज्ञा लगाइएसँगै संक्रमण दर घट्दै गएको देखिएको हो ।  नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या क्रमशः घट्दो क्रममा रहेको छ । यस्तै मृतकको संख्या पनि घट्दो क्रममा रहेको छ भने निको हुने दर बढ्दै गएको देखिएको छ । यस्तै मृतकको संख्या पनि घटेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोना सङ्क्रमणमुक्त बनेका छन् भने निको हुनेदर ७४.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमितमध्ये देशभर १ हजार ३ सय १३ जना आईसीयूमा र ३ सय ८० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् भने अधिकांश सङ्क्रमित होम आइसोलेसनमै रहेका छन् । गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना निको हुँदा ७ हजार ३ सय ६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ३ सय १६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो । 
काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २ सय ९२, ललितपुरमा ४ सय ३६ र काठमाडौंमा १ हजार ८ सय ८१ गरी जम्मा २ हजार ६ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको डा.गौतमले जानकारी दिनुभयो ।  हाल देशभर १ लाख १० हजार २ सय ६३ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज मात्रै सङ्क्रमणका कारण १ सय ४५ जनाको मृत्यु भएको छ ।