काठमाडौं – कोभिड –१९ सङ्क्रमितको उपचारमा अक्सिजन सिलिण्डरको चरम अभाव भएको भन्दै व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीका कारण उत्पन्न सङ्कट समाधानका विषयमा विज्ञ तथा निजी क्षेत्रका व्यक्तिहरुसँग छलफल गर्नु भएको थियो । सो छलफलमा बोल्दै विभिन्न क्षेत्रका व्यक्तिहरुले दिन प्रतिदिन कोरोना सङ्क्रमितको संख्या बढिरहेको र गम्भीर बिरामी पनि बढेको भन्दै अक्सिजन र अक्सिजन सिलिण्डरको बन्दोबस्तमा सरकार गम्भीर हुनुपर्ने बताउनु भएको हो । छलफलमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिश कुमार मोरले कतिपय जिल्लामा कतै अक्सिजन हुने सिलिण्डर नहुने त कतै सिलिण्डर हुने अक्सिजन नहुने समस्या रहेको भन्दै यस्तो समस्या हल गर्न ध्यान दिनुपर्ने बताउनु भएको छ । उहाँले अक्सिजन आयात गर्न सरकारले भारत सरकारसँग संवाद गर्नुपर्ने बताउनुभयो ।
यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अक्सिजन फ्याक्ट्रीमा आफ्नो कम्पनीको सिलिण्डर भए भरिदिने र अर्को कम्पनीको भए नभरीकन फिर्ता पठाउने गरिएको भन्दै जुनसुकै कम्पनीको भएपनि भर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । उहाँले अक्सिजनको आवश्यकता पूर्ति गर्नका लागि ‘जि टू जि’मार्फत आयात गर्नुपर्ने जोड दिनुभयो । होम आइशोलेसनमा बस्नेहरुका लागि सल्लाह, सुझाव दिनको लागि चिकित्सकहरुको मोवाइल टिम बनाउनुपर्ने उहाँको धारणा छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले स्वास्थ्य सङ्कटकाल लगाउनेबारे सोच्नुपर्ने बताउनु भएको छ । स्वास्थ्य सङ्कटकाल घोषणा गरे विश्वको ध्यान नेपालतिर आउने र प्राथमिकताको साथ उपचार गर्न सकिने उहाँको भनाइ छ । अमेरिकी सरकारसँग नेपाल सरकारले अनुदान अथवा किनेरै भएपनि ल्याउने गरी भ्याक्सिन माग्नुपर्ने पनि बताउनुभयो । डाक्टर पढिरहेका अन्तिम वर्षका विद्यार्थीहरुलाई अस्पतालमा काम गर्न लैजानु पर्ने पनि उहाँले बताउनुभयो ।
यसैगरी वरिष्ठ चिकित्सक चक्रराज पाण्डेले बिरामीको अवस्था हेरेर अस्पताल भर्ना गरिनुपर्ने बताउनुभयो । अनावश्यक भर्ना भएका बिरामीहरुलाई भन्दा अतिआवश्यक अवस्थाका बिरामीहरुलाई अस्पतालमा भर्ना गरेमा बचाउन सकिने उहाँको भनाइ छ । गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष उपेन्द्र महतोले तत्कालै २० हजार अक्सिजन सिलिण्डर र ५०० भेन्टीलेटर सरकारले ल्याउनु पर्ने बताउनुभयो । ठुलो अक्सिजन प्लान्ट तत्कालै बनाउनुपर्ने आवश्यकता रहेको पनि उहाँको भनाइ छ । यस्तै वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले अक्सिजन उत्पादनमा काम गर्ने मानिसहरुलाई भ्याक्सिन तथा जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ । बढीभन्दा बढीलाई भ्याक्सिन लगाउनुपर्नेमा उहाँको जोड छ । ९२ प्रतिशत कोरोना सङ्क्रमित घरमै बस्ने गरेको भन्दै उहाँले चिकित्सकहरुले होम आइशोलेसनमा बसेकाहरुलाई सल्लाह सुझाव दिन नसकेकाले होम आइशोलेसनमा बस्नेहरुको लागि टेलिभिजनमार्फत जानकारीमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । घरमा आइशोलेसनमा बस्दा सङ्क्रमण फैलिने खतरा भएकाले आइशोलेसन सेन्टरको संख्या बढाउनु पर्ने उहाँको भनाइ छ । परीक्षणको दायरा बढाउनु पर्ने, आइसीयु र भेन्टिलेटरको जनशक्ति बाहिरी जिल्लामा पनि पठाउनु पर्ने तथा हाइफ्लो अक्सिजन लिनुपर्ने बिरामीको लागि सुविधा सम्पन्न अस्पतालमा लैजाने व्यवस्था समेत गरिनु पर्ने उहाँको भनाइ छ । अक्सिजन सिलिण्डर गायब गरिने गरेको भन्दै उनले प्रशासनले सिलिण्डर खोज्नुपर्ने पनि बताउनुभएको छ । अक्सिजन प्लान्ट निर्माणमा अनुदानको व्यवस्था गरेर निजी क्षेत्रलाई काम गर्न दिए छिटो निर्माण हुन सक्ने उहाँको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले तदारुकताका साथ काम गरिरहेको बताउनुभयो । कोभिडका गम्भीर बिरामीलाई सिनियर डाक्टरले नहेरी जुनियर डाक्टरहरुले हेर्ने गरिएको भन्दै त्यसो गर्नु नहुनेतर्फ उनले सचेत गराउनुभयो । मन्त्रालयले कोभिडको नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यका पहिलेका कर्मचारीलाई फर्किन आग्रह गरिएको उहाँको भनाइ छ ।