काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले सरकारले स्वास्थ्य सङ्कटकाल लगाउनुपर्ने बताउनु भएको छ । उहाँले यसबारे सोच्न ढिला गर्न नहुनेमा जोड दिनु भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राती कोभिड–१९ महामारीका कारण उत्पन्न सङ्कट समाधानका विषयमा विज्ञ तथा नीजि क्षेत्रका व्यक्तिहरुसँग छलफलमा स्वास्थ्य सङ्कटकाल घोषणा गर्नुभएको छ । विश्वको ध्यान नेपालतिर आउने र प्राथमिकताको साथ उपचार गर्न सकिने धारणा राखेका छन् । 
अमेरिकी सरकारसँग नेपाल सरकारले अनुदान अथवा किनेरै भएपनि ल्याउने गरी भ्याक्सिन माग्नुपर्ने पनि बताउनु भएको छ ।  डाक्टर पढिरहेका अन्तिम वर्षका विद्यार्थीहरुलाई अस्पतालमा काम गर्न लैजानुपर्ने पनि उहाँले बताउनु भएको छ । यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले कतिपय जिल्लामा कतै अक्सिजन हुने सिलिन्डर नहुने र कतै सिलिन्डर हुने अक्सिजन नहुने समस्या रहेको भन्दै यस्तो समस्या हल गर्न ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अक्सिजन आयात गर्न सरकारले भारत सरकारसँग सम्वाद गर्नुपर्ने बताउनु भएको छ । 
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अक्सिजन फ्याक्ट्रीमा आफ्नो कम्पनीको सिलिन्डर भए भरिदिने र अर्को कम्पनीको भए नभरीकन फिर्ता पठाउने गरिएको भन्दै जुनसुकै कम्पनीको भएपनि भर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले अक्सिजनको आवश्यकता पूर्ति गर्नका लागि जि टू जि मार्फत् आयात गर्नुपर्नेमा जोड दिनुभयो । गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष उपेन्द्र महतोले तत्कालै २० हजार अक्सिजन सिलिन्डर र ५ सय भेन्टीलेटर सरकारले ल्याउनुपर्ने बताउनुभयो । अक्सिजन प्लान्ट तत्कालै बनाउनुपर्ने आवश्यकता रहेको पनि उहाँको भनाई छ ।