काठमाडौं – पार्टीभित्रको विवाद मिलाउने प्रयास स्वरुप सिंहदरबारमा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच ‘वान टु वान’ वार्ता सुरु भएको छ । दुई नेताबीचको वार्ताबाट विवाद समाधान गर्न गठन गरिने भनिएको कार्यदलका सदस्यहरुको टुङ्गो लगाइने बताइएको छ । गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै कार्यदलमा रहने सदस्य टुङ्ग्याउन छलफलमा बसेका हुन् ।
गत शुक्रबार सिंहदरबारमा भएको छलफलले जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने र त्यसका लागि दुई नेतालाई कार्यदलमा रहने सदस्यहरुको टुङ्गो लगाउने जिम्मा दिएको थियो । माधव नेपाल समूहबाट कार्यदलमा रहने व्यक्ति लगभग टुङ्गो लागेपनि ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोख्रेलबाहेक अन्यको टुङ्गो लागेको छैन । नेपाल पक्षबाट भने कार्यदलमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहने यसअघि नै टुङ्गो लागेको थियो । ओली आफ्नो तर्फबाट कार्यदलमा रामबहादुर थापालाई समेत राख्ने तयारीमा छन् । तर माधव पक्षले थापालाई राख्न नहुने बताउँदै आएको छ ।