काठमाडौँ – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरसको महामारीसँग जुध्नका लागि आवश्यक खोपसहितका स्वास्थ्य सामग्री जुटाउनका लागि प्रयास तीव्र बताउन विभिन्न देशमा रहेका नेपाली कूटनीतिज्ञलाई निर्देशन दिएका छन् । परराष्ट्र मन्त्री ज्ञवालीले शनिबार विभिन्न १३ देशमा रहेका कूटनीतिज्ञसँग भर्च्युअल बैठक गरेर भइरहेका प्रयासबारे जानकारी लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीले कोभिड–१९ महामारीको अवस्था तथा नियन्त्रणका लागि भइरहेको प्रयासबारे कूटनीतिज्ञहरुलाई जानकारी गराउँदै अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि सक्रिय रुपमा परिचालित हुन भनेका हुन् । राजदूतहरुले पनि आफूहरुका तर्फबाट भइरहेको प्रयासबारे मन्त्री ज्ञवालीलाई जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालले अमेरिका, बेलायत, जर्मनी, अस्ट्रेलिया, चीन, भारत र रुससहितका देशसँग खोपसहितका अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि सहयोग माग गर्दै पत्र नै पठाएको छ । खोप, अक्सिजन सम्बन्धी सामग्रीहरु, औषधि तथा अरु अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउनका लागि अन्तर्राष्ट्रिय समुदायसँग भइरहेको प्रयास अन्तर्गत नै परराष्ट्र मन्त्रीले नेपाली कूटनीतिज्ञसँग छलफल गरेको मन्त्रालयले जनाएको छ । सहयोग जुटाउन सकिने सम्भावित अरु विकल्पहरुको खोजीका लागि प्रयास थप तीव्र बनाउन मन्त्री ज्ञवालीले निर्देशन दिएका छन् । द्विपक्षीय तथा बहुपक्षीय तहमा छलफल गरि सहकार्यका लागि प्रयास गर्न मन्त्री ज्ञवालीले भनेका छन् । यस्तै सहयोगी संस्था, निजी क्षेत्र तथा विदेशमा रहेका नेपाली समुदायबाट पनि सहयोग जुटाउनका लागि पहल गर्न पनि मन्त्री ज्ञवालीले कूटनीतिज्ञहरुलाई आग्रह गरेको मन्त्रालयले जनाएको छ । 
यस्तै विदेशमा रहेका नेपालीहरुको सुरक्षा तथा स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेर काम गर्न उनले कूटनीतिज्ञलाई निर्देशन दिएका छन् । युरोपियन युनियन (इयू), संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया तथा बंगलादेशसँग पनि अत्यावश्यक स्वास्थ्य सामग्रीको सहयोग तथा खरिद प्रक्रियालाई लिएर कुराकानी भइरहेको परराष्ट्र मन्त्रालयले यसअघि नै बताएको थियो । नागरिक अभियन्ता तथा विज्ञहरुले पनि अमेरिका, बेलायतसहितका देशहरुलाई नेपालमा कोरोना भाइरस महामारीको अवस्था भारतको जस्तै भयावह बन्ने तर्फ गइरहेको भन्दै खोप तथा अक्सिजनसहितका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिदिन अपील गरिरहेका छन् ।