काठमाडौं – कोरोना विरुद्धको दोश्रो चरणको खोप लगाउने विषयमा सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा विवाद सिर्जना भएको छ । सङ्घीय संसद सचिवालयको पहलमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने सिलसिलामा तनाव उत्पन्न भएको हो । सङ्घीय संसदका सांसद, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारका लागि राखिएको खोप कार्यक्रममा  अन्य सरकारी निकायका कर्मचारी तथा उनीहरूका आफन्तहरू समेत खोप लगाउन आएपछि विवाद उत्पन्न भएको हो । 
    सङ्घीय संसद् भवनमा लगाउन ल्याइएको खोप संख्याभन्दा उल्लेख्य रूपमा भीड बढेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउन रोकेको छ ।  संसद सचिवालयले आजका लागि ८ सय डोज खोप मागेको भएता पनि ३ सय डोज खोप मात्र ल्याइएको जनाइएको छ । सो ल्याएको खोप समेत जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका कर्मचारीले लगाउन मानिरहेका छैनन् ।  जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख प्रशासक बद्रीबाबू खड्काको निर्देशनमा खोप लगाउन रोकिएको स्रोतको भनाई छ । खड्काले सांसदका लागि पठाइएको खोप अरूलाई नलगाउन निर्देशन दिएपछि स्वास्थ्यकर्मीले खोप  लगाउन रोकेका छन् । 
    बिहानैदेखि लाइन बसेका सांसद तथा पूर्वमन्त्रीले समेत खोप लगाउन पाएका छैनन् । साथै लाइन बसेका अन्य व्यक्तिहरू खोप लगाउन नपाएपछि आक्रोशित बनेका छन् । संसद सचिवालयले २ दिन अघिदेखि सांसद कर्मचारी तथा मर्यादापालक तथा संसदीय रिपोर्टिङ गर्ने पत्रकारका लागि भनी दोश्रो डोजको खोप लगाउने कार्यक्रम राखेको थियो ।