काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्राको दिने अभियान सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको निर्णय अनुसार स्वास्थ्य कार्यालय, काठमाडौंबाट खोप अभियान सञ्चालन सुरु गरिएको हो । यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले लगाउन पाउने भएका छन् । काठमाडौं महानगरपालिकाको ३२ वटै वडाका खोप केन्द्रबाट कोरोनाविरुद्धको भेरोसेल खोप दिइने छ । खोप कीर्तिपुर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिकामा दुई÷दुई स्थानमा खोप केन्द्र खोप कार्यक्रम सञ्चालन भइरहेको छ । चन्द्रागिरी नगरपालिकाका तीनवटा खोप केन्द्र, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा भने एक÷एक वटा खोप केन्द्र तय गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
 खोप अभियान सञ्चालनका क्रममा सुरक्षाको व्यवस्था जिल्ला प्रशासन  कार्यालयले मिलाउने छ । यस्तै काठमाडौंपछि भक्तपुरमा जेठ ४ र ललितपुरमा जेठ ६ गतेबाट भेरोसेलको दोस्रो मात्राको खोप अभियान सुरु हुँदैछ । तर गत चैत्र २५ गतेपछि कोरोनाविरुद्धको खोप लगाएर सङ्क्रमित भएका र लक्षण देखिएकाले दोस्रो मात्रा खोप नपाउने भएका छन् । खोप लगाएर कोरोना सङ्क्रमण भएका र लक्षण देखिएकाहरुले परीक्षण गर्दा नेगेटिभ आएपनि दोस्रो मात्रा खोप लगाउन नपाउने काठमाडौं महानगरपालिकाले जनाएको छ ।  चैत्र २५ गतेदेखि ०७८ वैशाख १५ गतेसम्म कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिइएको थियो । जेठ २ गतेदेखि चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा दिने अभियान काठमाडौं महानगरपालिकाले जनाएको छ ।