काठमाडौं – कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक लम्बिदै गर्दा प्रधानमन्त्री ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच १ बजे हुने भनेको भेटवार्ता पर धकेलिएको छ । अहिले सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित सीसीएमसीको बैठक बसिरहेको छ । प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण शक्ति कोभिड १९ विरुद्धको लडाईंमा खर्चिने घोषणा गरेसँगै यससँग सम्बन्धित बैठक र छलफलमा सहभागी बन्दै आउनु भएको छ । 
 मुलुकमा नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण दर तीव्र बनिरहेको बेला बोलाइएको सीसीएमसी बैठकले महामारी नियन्त्रण तथा रोकथाममा थप निर्णयहरु गर्ने बुझिएको छ । प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञ, निजी क्षेत्र तथा सरोकारवालासँग कोरोना नियन्त्रणका लागि गर्नुपर्ने कामबारे छलफल गर्नु भएको थियो ।