काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डद्वारा गठित कार्यलदले माध्यामिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने वा कस्तो मूल्याङ्कन विधिे अपनाउने भन्ने विषयमा अध्ययन थालेको छ । देशमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले महामारीको रुपमा फैलिँदै जाँदा गतवर्ष जस्तै यो वर्षपनि विश्वविद्यालयदेखि विद्यालयसम्मका सबै परीक्षाहरु स्थगित भएका छन् ।
शिक्षा विभागका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षमा राष्ट्रिय परीक्षा बोर्डद्वारा गठित कार्यदलले सरोकारवालाहरुसँग छलफल थालेको थालेको छ । परीक्षा बोर्डले कोरोना भाइरस सङ्क्रमको महामारीलाई मध्यनजर गरी एकहप्ता अघि (सोमबार) एसइइ र कक्षा १२ को परीक्षा तत्कालका लागि स्थागित गर्ने निर्णय गरेको थियो ।

यस वर्षको एसइइको परीक्ष यही जेठ १३ गतेदेखि र कक्षा १२ को जेठ २६ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । तत्कालका लागि परीक्षा स्थगित गरेको बोर्डले सम्भावित परीक्षण विधि तथा मूल्याङ्कन प्रक्रियाबारे अध्ययन तथा सरोकारवाला निकायसँग छलफल गरी सुझावसहितको प्रतिवेदन बुझाउन शिक्षा विभागका महानिर्देशक अर्याल नेतृत्वको कार्यदललाई जिम्मा दिएको हो ।

कार्यदलका अध्यक्ष अर्यालले ‘हामीले काम सुरु गरेका छौं । अहिले हामी विभिन्न देशमा विपदको अवस्थामा अध्ययन परीक्षण तथा मूल्यांकनका लागि अपनाइएका विधिबारे अध्ययन गरिरहेका छौं । यस्तै सरोकारवाला पक्षसँगको राय सुझाव सङ्कलनको प्रक्रिया पनि थालेका छौं । अहिले हामी अध्ययन तथा छलफलको प्रारम्भिक चरणमा छौं । जेठ मध्यसम्ममा सबै पक्षबाट आएको रायसहित सुझाव समेटेर प्रतिवेदन बोर्डलाई बुझाउने तयारी छ’, भन्नुहुन्छ ।

शिक्षक, अभिभावक, विद्यालय सञ्चालक, शिक्षाविद, विद्यार्थी तथा शिक्षा नीति निर्माणमा रहेकाहरुसँगको परामर्शमा आफूहरु रहेको अध्यक्ष अर्यालले जानकारी दिए। काम सुरु गरेको दुई हप्ताभित्र सुझावसहितको प्रतिवेदन बुझाउने जिम्मेवारी कार्यदलले पाएको छ । गग वर्षपनि कोरोना भाइरस सङ्क्रमणकै कारण निर्धारित परीक्षा हुन नसक्दा आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिएको थियो । कार्यदलले जेठको दोस्रो सातासम्ममा सबै पक्षबाट आएको रायसहित सुझाव समेटेर बोर्डलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।