काठमाडौं– दुईधारमा विभाजित जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई कारवाही गर्ने चेतावनी दिएको छ । उपेन्द्र समूहका सांसद् रामबाबु यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरित राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने बताउनु भएको हो ।
आज शनिबार पार्टी केन्द्रीय कार्यालयमा केही समय अघि सम्पन्न बैठकबारे सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भएपनि राजेन्द्र महतोलाई संसदीय दलको नेता विधान विपरित बनाइएको जानकारी दिनुभयो । नेता यादवले ‘अहिले हाम्रो संसदीय दलको न विधान बनेको छ, र त्यो विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदित हुनुपर्छ । संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन ।’
नेता यादवले महन्थ–राजेन्द्र पक्षले आफुहरुलाई विधानभन्दा माथि बुझ्ने गरेको आरोप लगाउँदै संसदीय दलको नेता चयनको अनैतिक र गलत काम भएको छ भन्नुभयो । सांसद समेत रहनु भएका जसपा नेता यादवले ‘विधानलाई तलमाथि जो गर्छ, त्यसलाई कारबाही हुन्छ । कारबाही हुन बित्तिकै बस्न इच्छा लाग्नेले कारबाही स्वीकारेर बस्छ । बस्न इच्छा लागेन भने बाहिर जान्छ ।’
पछिल्लो समय जसपा भित्र प्रधानमन्त्री ओलीलाई बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत दिने र नदिने सम्बन्धमा तिब्र मतभेत भएको थियो । तत्पश्चात उपेन्द्र यादव समूह र ठाकुर समूह बीच तिब्र मतभेद हुँदै आएको छ । दुवै पक्षले कार्यकारिणी तथा संसदीय दलको बैठक छुट्टाछुट्टै गर्न थालेका छन् भने पार्टी विभाजनको सङ्घारमा पुगेको छ ।