काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले आज बोलाउनु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकप्रति अर्का अध्यक्ष महन्थ ठाकुरले आपत्ति प्रकट गर्नुभएको छ । हिजो ठाकुरले बोलाउनु भएको बैठकले एकलौटी रुपमा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । जसपा भित्र विवाद चुलिंदै गएको छ ।
आज ठाकुरले एक विज्ञप्ति जारी गर्दै पार्टीले कुनै आधिकारिक बैठक नबोलाइएको भन्दै यसबारे आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको छ । अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तीमा ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजै दिनको १ बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनि विभिन्न सञ्चारमाध्यमबाट एवम् सामाजिक सञ्जालबाट सूचना एवम् समाचारहरु सम्प्रेषित भैरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उल्लेख गरिएको छ । उक्त विज्ञप्तिमा ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ’ भनिएको छ ।

पार्टीभित्रको विवादका बीच जसपा अध्यक्ष यादवले आफू निकटका सांसद् तथा कार्यकारिणी समितिका सदस्यहरुलाई बोलाएर बैठकमा छलफल चलिरहेको छ । सत्ता समीकरणका लागि पार्टीमा भएका विभिन्न गतिविधि, संसदीय दलको नेतामा राजेन्द्र महतोको चयन लगायतका विषयमा बैठकमा छलफल हुनेछ ।

केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष यादवको बहुमत रहेको छ । सोही बहुमतको आधारमा लुम्बिनी प्रदेशको सरकारलाई सहयोग गरेका चारजना सांसद्लाई कारवाही गरिएको थियो । यादव पक्षका नेताको दावी अनुसार संसदीय दलमा पनि उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतका आधारमा काँग्रेस, माओवादी केन्द्रसँग गठबन्धन बनाएर सरकार बनाउने निर्णय यादव समूहले थियो ।

तर पार्टी भित्रको खिचातानी र सत्ता समीकरणको खेलले पछिल्लो समय जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुरले १९ जना सांसदको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउनु भएको थियो । हिजो महन्थ ठाकुर समूहको बैठकले सोही हस्ताक्षरको आधारमा वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । जसपाका चारजना सांसद्हरुले दुवै पक्षमा हस्ताक्षर गरेका छन् । यसले पार्टीमा कसको बहुमत छ भन्नेमा थप अन्योलता बढेको छ ।