काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष समेत रहेका उपेन्द्र यादव पक्षले अहिले केन्द्रीय कार्यकारी परिषद्को बैठक बोलाएको छ । पार्टीभित्र अर्का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीचको विवादले राष्ट्रिय राजनीतिलाई नै प्रभावित तुल्याएको छ । हिजो शुक्रबारमात्रै जसपा महन्थ ठाकुर पक्षले आफु पक्षीय नेताहरुको बैठक डाकेर पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएको थियो । जसपाको केन्द्रीय कार्यकारी परिषद्मा ५१ जना सदस्य रहेका छन् । परिषद्मा यादव पक्षको बहुमत छ । यद्यपि, दुवै पक्षले आफ्नो समूहमा बहुमत रहेको दाबी गर्दै आएका छन् ।
हिजो अध्यक्ष महन्थ ठाकुर समूहले बोलाएको बैठकमा उपेन्द्र समूह पक्षधर कुनैपनि सदस्यहरुको उपस्थित थिएन । आज बोलाइएको बैठकको मुख्य एजेण्डा भनेको पार्टीमा उत्पन्न विवाद र समसामयिक राजनीतिक विषय रहेको हुँदा त्यस विषयमा छलफल गर्न केन्द्रीय कार्यकारी परिषद्को बैठक बोलाइएको यादव समूहले बताएको छ ।