काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार बनाउन नसक्नेहरुले संविधानअनुसार बनेको सरकारलाई प्रतिगमन भनेको भन्दै आपत्ति जनाउनु भएको छ । शुक्रबार संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्रीको शपथ लिएपछि कार्यभार सम्हाल्दै ओलीले निहित स्वार्थमा लागेकाहरुले आफूमाथि प्रतिगमनको संज्ञा दिएको भन्दै आपत्ति जनाउनु भएको हो । उहाँले मन्त्रिपरिषदको पहिलो बैठकमा नाम नलिई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश पोख्नु भएको छ । देशलाई संविधानअनुसार चलाउन नचाहने अशान्तिका पक्षधरहरु सक्रिय रहेको उहाँको आरोप थियो ।
‘यति बेला अस्थिरता चाहने, शान्ति नचाहने शक्तिहरु, संविधान अनुसार सरकार चलाउन तयार नहुनेहरु प्रतिगमन देख्दैछन्, ओलीले मन्त्रिपरिषद् बैठकमा अगाडि भन्नुभयो, ‘आफूले सरकार बनाउन नसक्नेहरु प्रतिगमन देख्छन्, आफ्नो जिद्धिअनुसार भएन भने पनि प्रतिगमन नै भन्छन्, तथाकथित क्रान्तिकारी चस्माबाट हेर्छन् ।’शुक्रबार इद उलको शुभकामना दिँदै प्रचण्डले प्रतिगामी शक्ति हावी भएको भन्दै प्रतिरोधका लागि उत्रन आह्वान गर्नुभएको थियो ।उहाँले जनतालाई भ्रममा पार्न र सरकारले गरेका राम्रा कामलाई ओझेलमा पार्न लागेको आरोप लगाउनु भएको छ ।
उहाँले,‘अहिले पनि जनतालाई भ्रममा पार्न प्रतिगमन भएको छ भनिरहेका छन्। । अशान्ति कायम गर्न खोजिरहेका छन् । दलका नेताहरुलाई भन्न चाहन्छ, यस्तो विकराल अवस्थामा आफ्ना स्वास्र्थ सेक्न खोज्नु उचित होइन । ’उहाँले आफू नेतृतत्वको सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध भएको, संविधानअनुसार अघि बढ्न तयार भएको बताउनुभयो । ‘जनतामा निराशा बढाउने, सरकारका प्रयासलाई ओझेलमा पार्न खोज्ने, जता पनि भ्रष्टाचार देख्ने, काम गर्ने संस्था व्यक्तिलाई पनि हतोसाहित पार्ने काम भएको छ । मानव जातीका अस्तितवमाथि सङ्कट आएका बेला कसैले भ्रष्टाचार वा अनुचित लाभ लिन खोज्छ भने सरकारले कारबाही गर्छ, ओलीले भन्नुभयो ।