काठमाडौं –सर्वोच्च अदालतले बढ्दो कोरोना सङ्क्रमणलाई ध्यान दिंदै मुद्दाको सुनुवाइ भर्चुअल माध्यमबाट गर्न थाल्ने निर्णय गरेको छ । शुक्रबार बसेको फुल कोर्टको बैठकले मुद्दाको बहस पैरवीका लागि भर्चुअल माध्यमलाई प्रयोग गर्ने निर्णय गरेको हो । सर्वोच्चको निर्णयमा भनिएको छ, ‘सङ्क्रमणको जोखिम न्यूनीकरण गर्दै सेवा सूचारू राख्नको लागि सर्वोच्च अदालतमा सुनुवाई गरिने मुद्दाको वहस पैरवी सूचना प्रविधिको प्रयोग गरी भर्चुअल विधिबाट सञ्चालन गर्न प्रशासनले आवश्यक व्यवस्था मिलाउने ।’सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार आइतबारदेखि सेवामा केही विस्तार गर्ने भएको छ ।
संवैधानिक व्याख्या र नागरिकको हक हितसँग जोडिएको निवेदनको सुनुवाई सुचारु गर्ने निर्णय सर्वोच्चले लिएको छ । संवैधानिक व्याख्या, मौलिक हकसँग सम्बन्धित संवेदनशील विषय, सार्वजनिक सरोकारको प्रश्न निहित भएका संविधानको धारा १३३ र १३७ अन्तर्गतका जरूरी प्रकृतिका रिट निवेदनको दर्ता र सुनुवाई हुने भएको छ । त्यस्तै आगामी जेठ १३ गतेसम्म सरकारवादी भई चलेका थुनुवा मुद्दाको पुनरावेदन फिर्ता एवं प्रचलित कानूनबमोजिम मिलापत्र हुनसक्ने सरकारवादी फौज्दारी मुद्दाको मिलापत्र विषयमा पनि सुनुवाइ गर्ने ढकालले जानकारी दिएका छन् ।