काठमाडौं –जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिको कोर्ष करेक्सन हुनुभन्दा थप गिजोलिएको प्रतिक्रिया दिनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वैकल्पिक सरकार गठनको दिशामा अघि बढ्नु भएका नेता यादवले पुनः ओली नै प्रधानमन्त्री बन्ने अवस्था आउँदा मुलुकको राजनीति थप अनिश्चिततातर्फ धकेलिएको प्रतिक्रिया दिनुभएको हो । शुक्रबार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आफुहरु मुलुकलाई सही बाटोमा हिँडाउन र मुलुकको राजनीति पार्टीहरूको हातभन्दा बाहिर नजाओस् भन्ने प्रयासमा रहेको बताउनुभयो ।
 प्रधानमन्त्रीका अभिव्यक्ति संसदलाई भङ्ग गरेर मुलुकलाई अनिश्चित र अन्यौलतातर्फ लैजाने खालका भएको उहाँले दाबी छ । उहाँले भन्नुभयो, “राजनीतिको कोर्ष करेक्सन भएन । गिजोलियो । गिजोलिँदै जाँदाखेरी अझै नेपालको राजनीतिक दिशाहिनता, अनिश्चितता र अन्यौलतातर्फ धकेलिएको छ । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र माथि ग्रहण लाग्ने र धरापमा पर्ने कार्य हुँदै गएको छ । त्यसैले आउने दिनहरुमा लोकतन्त्र धरापमा पर्ने र आउँदो पुस्ताले फेरि संघर्ष गर्नुपर्ने हो कि भन्ने आशङ्काहरु उत्पन्न भएको छ । ”