काठमाडौं – नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ । साँझ ६ बजे सिंहदरबारमा भेटवार्ता हुने तय भएको छ । आजको वार्तामा भने ओली र नेपालले आफू निकट नेताहरुलाई पनि सामेल गराउने भएका छन् । वार्तामा जाने नेपाल समूहका नेताहरुको टुङ्गो लागेको छ । ओलीसँगको वार्तामा नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी हुने भएका छन् ।
तर ओली तर्फबाट भने टुङ्गो लागेको छैन । ‘उहाँहरु (ओली र नेपाल) बीच वार्ता हुने हो । अरुबारे थाहा छैन’, ओली निकट नेता एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले भन्नु भएको छ । ओली र नेपालबीच बिहीबार दिउँसो लामो सम्वाद भएको थियो । यो सम्वादमा एमालेभित्रको विवाद मिलाउने सहमति भएपछि नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएको थियो । नेपाल समूह पछि हटेसँगै बिहीबार राति नै संविधानको धारा ७६ (३) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई आजै शपथ ग्रहण समेत गराइसक्नु भएको छ ।