काठमाडौं – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गर्नु भएको छ । प्रतिनिधिसभामा विश्वासको मत लिन नसक्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था श्रृजना हुनुले कयौ संशय उब्जाएको उहाँले बताउनुभयो । शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोस्रो डोज लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले मुलुकको राजनीति रहस्यमय बाटोतर्फ अघि बढेको र सयौं संसयहरु उब्जाएको बताउनु भएको हो । उहाँले अझै पनि संसद विघटन गर्ने प्रयत्नै अझै पनि जारी नै रहेको दाबी गर्नुभएको हो । उहाँले बताए अनुसार, “झन् रहस्यमय बाटो तिर जाँदैछ ।
धेरै संशयका कुराहरु छन् । पहिलो कुरो त संसदलाई फाल्ने प्रयत्न अझै पनि जारी छ । त्यो कुरा कसरी समाधान हुन्छ । संसदले पुरा आयु बाँच्न पाउँछ कि पाउँदैन । संविधानले बाँच्न पाउँछ कि पाउँदैन । जनताले बाँच्न पाउँछ कि पाउँदैन । यस्तो कोरोना छ । यो कोरोनाको बीचमा लगेर फेरि तमासाहरू हुन थाल्यो भने फेरि जनता नै बाँच्ने कुरा आउँछ । त्यसकारण जनता बाँच्ने कुराको पनि चिन्ता छ ।”