काठमाडौं – अल्पमतमा प्रधानमन्त्री नियुक्त हुनुभएका केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनु भएको छ । शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई सपथ खुवाउनु भएको हो । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पु–याएर दाबी पेश गर्न तीन दिनको समय दिनु भएको थियो ।
हिजो बिहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । प्रधानमन्त्री ओलीले एक महिनाभित्र फेरि संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसबेला उहाँले विश्वासको मत पाउनु भएन भने धारा ७६ (५) अनुसार राष्ट्रपतिले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ । र, उसले पनि एक महिनामा विश्वासको मत पाउन नसके प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गर्न पाउने नियमावली रहेको छ ।